आज पनि दिनभर पानी पर्ने, २७ नदीमा जलसतहले पार गर्यो खतरा तह पार
काठमाडौं । आज पनि दिनभरी निरन्तर झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार वर्षा गराउने प्रणाली बागमती र गण्डकी प्रदेश आसपास केन्द्रित भएको छ । त्यसैले आज दिनभर नै निरन्तर झरी पर्ने छ ।
केही दिनदेखिको अविरल वर्षाले जनधनको क्षति हुने जोखिम भएकाले सतर्क रहन र सुरक्षित स्थानमा बस्न महाशाखाले निरन्तर आग्रह गर्दै आएको छ ।
नेपालमा मनसुनी वायु कायमै रहेकाबेला बंगालको खाडीबाट पनि थपिएको जलवाष्पयुक्त वायुले गर्दा अहिले मनसुन अत्यधिक सक्रिय भएको छ । देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या छ ।
काठमाडौं उपत्यकाका बस्तीसमेत जलमग्न छन् । नदी किनारका बस्ती झन् बढी प्रभावित भएका छन् । राजमार्गहरु अवरुद्ध भएका छन् । सडकसँगै हवाई सेवा पनि प्रभावित भएको छ ।
नागढुंगामा खसेको पहिरो हटाउन नसक्दा सयौं यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । गाडीहरुको लामो लाइन लागेको छ ।
त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिपर बगाएको छ ।
यसैबीच, लगातारको वर्षाले देशका सबै नदी र खोलामा बाढी आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, बागमती, नारायणी, तिनाउ र यसका सहायक नदी गरी १० वटा नदीमा जलसतह खतरा तहभन्दा माथि रहेको छ भने २७ नदीमा जलसतहले खतरा तह पार गरेको छ ।
विभागले बाढीको जोखिम क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण हुन र सतर्क भएर बस्न आग्रह गरेको छ । त्यस्तै अनावश्यक यात्रा नगर्न, होचो भूभागमा भए सुरक्षित र उचाइमा रहेको ठाउँमा जान तथा बाढीका सूचनाहरुबारे अपडेट रहन विभागले आग्रह गरेको छ ।




















