कागका कारण उपत्यकामा फैलदै छ बर्डफ्लु
काठमाडौं । काठमाडौं उपत्यका भित्र बर्डफ्लु व्यापकरूपमा फैलिएनुको मुख्य कारण काग रहेको पुष्टि भएको छ । उपत्यकाका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर बर्डफ्लु फैलिएको विज्ञको भनाई छ ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर बर्डफ्लु फैलिएको जानकारी गराएका छन् । कुखुरामा देखिएको बर्डफ्लुलाई नियन्त्रणमा लिन सकिने बताउँदै उनले भने, बर्डफ्लु देखिएका कागलाई कुनै हलतमा नियन्त्रणमा लिन सकिदैन ।
सदर चिडियाखानालगायत धेरे ठाउँमा कागले सङ्क्रमण सारेको पुष्टि भएको छ । सङ्क्रमित कागले एक ठाउँबाट उडेर अर्को ठाउँ रोग सार्ने गरेको स्पष्ट पार्दै उनले कागमा देखिएको सङ्क्रमण २१ दिनसम्म रहने भएकाले धेरै नै बर्डफ्लु रोग सार्न सक्ने बताएका छन् ।
बर्डफ्लु लागेर काग मरेपछि कहाँ मरेको भन्ने पत्तो नहुने र त्यही मरेको कागबाट बर्डफ्लु सार्ने भइरहेको उनको भनाई छ । कागको सुलीले पनि धेरै नै बर्डफ्लु सार्ने दाहालले बताए ।
हाल काठमाडौं उपत्यकाका तीनै जिल्लामा बर्डफ्लु देखिएको र देशभर ११ जिल्लाका १०० ठाउँमा बर्डफ्लुको सङ्क्रमण देखिएको पशु सेवा विभागले जनाएको छ । महानिर्देशक डा. दाहालले उपत्यकामा कीर्तिपुर र कागेश्वरी मनहराबाहेक सबै ठाउँमा बर्डफ्लु नियन्त्रण लिइसकिएको जानकारी गराएका छन् ।
