बढ्दै देउवा समूहको सक्रियता, १५औं महाधिवेशनको तयारी तिब्र, प्रदेश भेलाबाट शक्ति एकत्रित गर्ने रणनीति
काठमाडाैं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूह प्रदेश भेलाको तयारीमा जुटेको छ । पार्टीले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत प्रदेशस्तरीय कार्यक्रमहरू सञ्चालन गरिरहेका बेला देउवा समूह आन्तरिक रणनीति तय गर्न प्रदेश भेला गर्ने तयारीमा जुटेको हो ।
देउवा निकट नेता मीन विश्वकर्माले विचार समूहमा रहेका नेताहरूलाई एकताबद्ध राख्दै आन्तरिक छलफललाई प्रभावकारी बनाउन भेला आयोजना गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।उनको भनाइअनुसार देउवा समूहले प्रदेशस्तरीय भेला आयोजना गरेर आसन्न १५औं महाधिवेशनको तयारी गरिरहेको छ । वर्तमान राजनीतिक अवस्था र मुलुकको दिशाबारे साझा बुझाइ बनाउँदै अब कसरी अघि बढ्ने भन्ने विषयमा पनि प्रदेशस्तरीय भेलामा छलफल हुने जानकारी दिए ।
देउवा समूहले प्रदेशस्तरीय भेलाका लागि कोशीमा कृष्णप्रसाद सिटौला र मधेशमा आनन्दप्रसाद ढुंगानालाई समन्वयको जिम्मेवारी दिएको छ । यस्तै, गण्डकीमा मेखलाल श्रेष्ठ, बागमतीमा प्रकाशमान सिंह र डा. प्रकाशशरण महतले समन्वय गरिरहेका छन् । नेता विश्वकर्माका अनुसार लुम्बिनीमा निवर्तमान सहमहामन्त्री किशोरसिंह राठौर, कर्णालीमा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही र सुदूरपश्चिममा एनपी साउदलाई जिम्मा दिइएको छ । देउवा समूहले प्रदेशस्तरीय भेलाको सुरुवात कोशी प्रदेशबाट गर्ने भएको छ । कोशी प्रदेशको भेला २९ वैशाखमा विराटनगरमा आयोजना गरिने नेता विश्वकर्माले जानकारी दिए ।
