sevenstartv.com ११ जेठ २०८३, सोमवार

जसपा नेपालको केन्द्रीय समितिको बैठक तीन दिन चल्ने

९ जेठ २०८३, शनिवार स्टार संवाददाता

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल(जसपा नेपाल) को केन्द्रीय समितिको बैठक शनिबारबाट प्रारम्भ हुने भएको छ । पार्टीका नेता शैलेन्द्र शाहले जेठ  ११ गतेसम्म सञ्चालन हुने सो बैठकमा पार्टी सङ्गठन, व्यवस्थापन, समायोजन तथा आगामी राजनीतिक कार्यक्रम र रणनीति बनाउँने बारे विस्तृत छलफल हुने जानकारी गराएका छन् ।

जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीको एकता भए पश्चात यो पहिलो बैठक बस्ने भएको हो । पार्टी सङ्गठनहरूको समायोजनलाई मुख्य प्राथमिकतामा राखिएको जनाइएको छ । केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति, पालिका समिति, वडा तथा टोल समितिदेखि भ्रातृ तथा शुभेच्छुक सङ्गठनहरूको समायोजनसम्बन्धी कार्यविधि निर्माण र अद्यावधिकका विषयमा बैठकले निर्णय गर्ने बताइएको छ ।

बैठकमा केन्द्रीय समन्वय समिति सदस्यहरूको कार्यविभाजन, प्रदेश सरकार र सङ्घीय दलबिच समन्वय तथा परामर्श समिति गठन, स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरूसँग समन्वय तथा सदस्यता नवीकरण र अद्यावधिकका विषय पनि कार्यसूचीमा समावेश गरिएको उल्लेख गरिएको छ ।

साथै जिल्ला, पालिका तथा सङ्घीय निर्वाचन क्षेत्रस्तरीय पार्टी अभिमुखीकरण, भेला तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत छलफल हुने जनाइएको छ । प्रतिनिधि सभा निर्वाचन २०८२ मा जसपा नेपालको तर्फबाट उम्मेदवार बनेकाहरूको प्रदेशस्तरीय भेला तथा अन्तरक्रियाबारे समेत बैठकले निर्णय गर्ने उल्लेख गरिएको छ ।

पार्टीले बैठकलाई सङ्गठन सुदृढीकरण र आगामी राजनीतिक रणनीति तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको समेत चर्चा गरिएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्