एमाले सचिवालय बैठक जारी नेतृत्व छोड्न अध्यक्ष ओलीमाथि दबाब
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा जारी रहेको छ । नेताहरूको कार्य विभाजन र निर्वाचनको समग्र समीक्षा गर्नका लागि नेकपा एमालेको सचिवालय बैठक बसिरहेको हो । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शुक्रबार बसेको बैठकको निरन्तरता स्वरुप शनिबार पनि बैठक बसेको छ ।
उक्त बैठकमा पार्टीका शीर्ष नेताहरूले समसामयिक राजनीतिक अवस्था, सरकारको कामकारबाही, पार्टी संगठन सुदृढीकरण तथा आगामी रणनीतिबारे आफ्नो धारणा राखिरहेका छन् । सचिवालय बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन, जनसंगठन परिचालन, कार्यविभाजन तथा वर्तमान राजनीतिक समीकरणबारे समेत छलफल भइरहेको एमाले स्रोतले जनाएको छ ।
शुक्रबारको बैठकमा पाँच उपाध्यक्षमध्ये चार जना उपाध्यक्षहरूले ओलीलाई अध्यक्षबाट राजीनामा दिएरमार्ग प्रशस्त गर्नु पर्नेमा जोड दिँदै पार्टी पुनर्गठनमा सहयोग गर्न सुझाव दिएका थिए । शनिबारको बैठकमा उपमहासचिवहरू योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टपछि ९ जना सचिवहरूले धारणा राख्दैछन् ।
१९ सदस्यीय सचिवालयमा ओलीको पक्षमा उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव महेश बस्नेत मात्र अडिग देखिन्छन् । उनीहरु बाहेकका नेताहरुले ओलीबाट पअब पार्टी अघि बढ्न नसक्ने जिकिर गरिरहेका छन् । आफ्नै पक्षमा सधै उभिने नेताहरु नै आफ्नो विपक्षमा उभिए पछि अध्यक्ष ओलीमाथि संकट पैदा भएको छ ।
