चन्द्रनिगाहपुरमा शंकास्पद वस्तु फेला
काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका-५ राजपेडामा सोमबार शंकास्पद वस्तु फेला परेपछि स्थानीयमा त्रास फैलिएको छ । आज बिहान स्थानीय बासिन्दाले सडक छेउमा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेर उक्त क्षेत्रलाई सुरक्षित बनाएको छ । अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खटिएको छ । नारायण दल गणबाट खटिएको सेनाको डिस्पोजल टोलीले शंकास्पद वस्तुको जाँच तथा निस्क्रिय पार्ने तयारी गरेको छ ।
सोमबार पनि रौतहटको राजपुर नगरपालिका-६ मा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाले डिस्पोज गरेको थियो । नारायण दल गुल्मले रौतहटका चारवटै निर्वाचन क्षेत्रमा १/१ वटा बम डिस्पोजल तथा गौर चन्द्रपुर सडक क्षेत्रका लागि छुट्टै एक टोली परिचालन गरेको सेनाले जनाएको छ ।
