नागढुङ्गा-मुग्लिङ सडकको कामले पायो तिव्रता
धादिङ । केही समय यता स्थगित भएको नागढुङ्गा मुग्लिङ सडक आयोजना अन्तर्गत नौंबिसे मलेखु (दोस्रो प्याकेज) को निर्माण कार्यले पुनः तिव्रता पाएको छ । अहिले मुख्य प्राथमिकताका साथ नौंबिसे धार्के खण्डको ३ किलोमिटर सडकमा बेस फाइनल गरी कालोपत्रे (पिच) गर्ने कार्यले तिव्रता पाएको हो ।
घाटबेसी खण्डमा समेत हाल काम भइ रहेको छ । पश्चिमि वायुका कारण समय अगाबै दिनहुँ पर्ने गरेको पानीका कारण काम गर्न केहि असहज भएको बताइन्छ । वर्षको समयमा यात्रु र सवारी साधनलाई मध्यनजर गर्दै बजार क्षेत्र र अत्यधिक उकालो तथा अप्ठ्यारो ठाँउमा पहिलो चरणमा पिच गर्ने कार्यलाई तिब्रता दिइएको आयोजना पुर्वी खण्डका आयोजना प्रमुख केशव ओझाले जानकारी गराएका छन् ।
हालसम्म पिचका लागि खनिएको ९ किलोमिटर र पुरानो पिच नखनिएको १० किलोमिटर सडक रहेको छ। भौतिक संरचनातर्फ १३ वटा पुलमध्ये १० वटा पुल निर्माण सम्पन्न भई सवारी साधन सञ्चालनमा आइसकेका छन् भने बाँकी ३ मध्ये दुईवटा पुलको स्ल्याब ढलानको काम भइरहेको आयोजना प्रमुख ओझाले बताएका छन् ।
उनले अदालतमा मुद्दा परेर रोकिएको एउटा पुलको फैसला आयोजनाको पक्षमा आइसकेकाले त्यसको काम समेत तत्कालै सुरु गर्ने तयारी रहेको जानकारी गराएका छन् । वर्षाको समयमा जोखिम मोलेर यात्रुले आवतजावत गर्न नपरोस भनी कामलाई जति सक्दो छिटो सम्पन्न गर्ने योजना रहेको ओझाको भनाई छ ।
