एमालेको एघारौँ महाधिवेशन : आजदेखि काठमाडौंमा बन्दसत्र
काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज देखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सञ्चालन हुँदै छ ।
शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको एमाले महाधिवेशनको बन्दसत्र भने काठमाडौंमा आज र भोलि सञ्चालन गरिने भएको हो । बिहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने एमालेको तयारी छ ।
यसपटक अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेतृत्वमा चुनौती दिने तयारी गरेका छन् । यद्यपि बन्दसत्र सुरु हुनै लाग्दा पनि दुवै पक्षले प्यानल घोषणा गरिसकेका छैनन् । अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका पोखरेललाई पार्टीका पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति विद्या भण्डारी पक्षको समर्थन छ ।
यो प्यानल ईश्वर–विद्याका रूपमा घोषणा गरिने चर्चा यस अघिदेखि नै भइरहेको छ। आजदेखि २ हजार २ सय ६२ जना महाधिवेशन प्रतिनिधि पार्टीको नयाँ नेतृत्व चयन प्रक्रियामा सहभागी हुँदै छन् । एमालेमा अहिले अध्यक्षसहित १५ पदाधिकारी रहने व्यवस्था छ। जसअनुसार अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव रहनेछन् ।
