बंगलादेशकी प्रधानमन्त्री हसिनाले दिइन् पदबाट राजीनामा, बहिनीसहित सुरक्षित स्थानमा प्रस्थान
काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएकी छन् । पदबाट राजीनामा दिएर प्रधानमन्त्री हसिना आफ्नी बहिनीसहित देश छोडेर ‘सुरक्षित स्थानमा’ प्रस्थान गरेकी हुन् ।
बीबीसीका अनुसार प्रदर्शनकारीको भीड प्रधानमन्त्री निवासमा प्रवेश गरेको छ । यसअघि बंगलादेशमा जुलाई महिनादेखि मात्रै विद्यार्थीले आन्दोलन गर्दै आएका छन् । देशका अधिकांश ठूला सरकारी जागिरमा रहेको आरक्षण खारेज गर्नुपर्ने विद्यार्थीको माग छ । विद्यार्थी आन्दोलनपछि शेख हसिना सरकारले केही कोटा घटाए पनि विद्यार्थीहरू निरन्तर हिंसाका बीच प्रधानमन्त्री शेख हसिनाको राजिनामाको मागमा अडिग थिए ।
हिंसात्मक विद्यार्थी आन्दोलनका कारण बंगलादेशमा हालसम्म करिब ३ सय जनाको मृत्यु भइसकेको छ । गत महिना सरकारले आन्दोलन नियन्त्रण गर्न सेना बोलाएको थियो । आइतबारदेखि विद्यार्थीहरुले ‘नागरिक अवज्ञा’ आन्दोलनका लागि अपिल गरेका थिए । यसमा जनतालाई सरकारी कर तिर्न अपिल गरिएको थियो ।रिपोर्टका अनुसार हजारौं आन्दोलनकारीले प्रधानमन्त्री शेख हसिनाको सरकारी निवासमा ढुंगामुढा गरिरहेका छन् ।
