नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विविधतायुक्त विशेषताले भरिपूर्ण सुन्दर देश हो : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै पर्व हाम्रा सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर भएको उल्लेख गरेका छन् ।
श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा शुभकामना दिँदै उनले पर्वले समाजलाई भावनात्मक एकताको सूत्रमा बाँधी धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम गर्दै सत्कर्म र मानव कल्याणमा लाग्न प्रेरित गर्दै आएको बताएका हुन् ।
उनले सन्देशमा भनेका छन्, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विविधतायुक्त विशेषताले भरिपूर्ण सुन्दर देश हो । यहाँ विभिन्न जातजातिका आआफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाड-पर्व छन्, तिनले नेपालीलाई एकताको सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।’
उनले भगवान् श्रीकृष्ण जन्मिएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी र विशेष गरी सुदूरपश्चिममा मनाइने गौरा पर्वको अवसरमा समस्त नेपालीमा आफ्नो पार्टी र व्यक्तिगत तर्फबाट सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
