sevenstartv.com २७ जेठ २०८३, बुधवार

आयोगद्वारा असार मसान्तसम्म सम्पत्ति विवरण बुझाउने म्याद थप

२७ जेठ २०८३, बुधवार स्टार संवाददाता

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समयअवधिलाई लम्याउँदै असार मसान्तसम्म समयावधी थप गरेको छ । सम्पत्ति विवरण बुझाउनुपर्नेहरु कतिपय व्यक्ति विदेशमा रहेकाले र कतिपयको विवरण संकलन गर्न कठिनाइ भएको गुनासो आएसँगै म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र भण्डारी बताएका छन् ।

आयोगले जेठ १ गते पूर्वप्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका विभिन्न पदाधिकारीहरुलाई सम्पत्ति विवरण बुझाउनका लागि सुचना जारी गरेको थियो । सो समयको सूचनाअनुसार जेठ मसान्तसम्म सम्पत्ति विवरण बुझाइसक्नुपर्ने जनाइएको थियो ।

तर उक्त म्याद सकिनै लाग्दा पनि करिब ३ हजार ५०० जनाले मात्र सम्पत्ति विवरण बुझाएका कारण आयोग अर्को सुचना जारी गरि समयावधि थप गरेको जनाएको छ ।

सम्पत्ति विवरण बुझाउनेहरुको चाप र सहजतालाई मध्यनजर गरी अन्तिम पटकलाई म्याद थप गरी मौका दिइएको  आयोगका प्रवक्ता गणेश केसीले बताएका छन् । हालसम्म प्राप्त सम्पत्ति विवरणको जाँचबुझ पनि थाल्ने तयारीमा आयोग रहेको उनको भनाई छ।