दोलाखामा मोटरसाइकल दुर्घटना हुँदा स्ववियु सभापतिको मृत्यु
काठमाडौं । दोलखामा मोटरसाइकल दुर्घटना हुँदा स्वतन्त्र विद्यार्थी युनियनका सभापति सहित दुई जनाको मृत्यु भएको छ । जिल्लाको भीमेश्वरमा दुई मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा दोलखाकै गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिसहित दुई जनाको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएराति करिब नौ बजे भीमेश्वर नगरपालिका–६ स्थित रमितेडाँडामा बा. ५३ प ८८९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्ववियु सभापति २४ वर्षीय सिरिस बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा च्छोरोल्पा अस्पताल चरिकोटमा मृत्यु भएको हो ।
बस्नेत भीमेश्वर नगरपालिका वडा नम्बर–५ माटीका स्थानीय बासिन्दा हुन् । उनले चलाएको मोटरसाइकलमा बैतेश्वर गाउँपालिका–३ मिर्गे घर भएका २६ वर्षीय सुजन भनिने श्याम बहादुर खत्री पनि सवार थिए । दुर्घटनामा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट चरिकोट जाँदै गरेका बस्नेतले चलाएको मोटरसाइकल लामोसाँघु जिरी सड्क खण्डमा बा.प्र.(२)०३४ प ३२४२ नम्बरको मोटरसाइकलसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा बा प्र(२)०३४ प ३२४२ नम्बरको मोटरसाइकल चालक बैतेश्वर गाउँपालिका–५ बस्ने २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

.gif)