sevenstartv.com १ असोज २०८३, बिहिवार

सहकारीले १३ प्रतिशत भन्दा धेरै ब्याज लिन नपाउने

१ असोज २०८३, बिहिवार स्टार संवाददाता

काठमाडौँ । सहकारी संस्थाहरुले १३ प्रतिशत भन्दा बढी ब्याज लिएको पाइएमा कार्वाही हुने भएको छ । सहकारी विभागले १३ प्रतिशत ब्याजदर तोकेसँगै सहकारी संस्थाहरुले सो भन्दा धेरै ब्याज लिइएको पाइएमा तुरुन्तै कार्वाही हुने भएको हो ।

यसअघि सहकारीहरुले १६ प्रतिशत  ब्याजदर लिदै आएका थिए । तर, सहकारी विभागले सन्दर्भ ब्याजदर ३ प्रतिशतले घटाएर १३ प्रतिशतमा झारे पश्चात तोकिए बमोजिम मात्र  ब्याजदर लिने निर्देशन दिइएको हो ।

विभागले घटाएको सहकारीको सन्दर्भ ब्याजदर असोज १ गतेदेखि लागु हुने जनाइएको छ । योसँगै अब सहकारीले कारोबारको अवस्था र आवश्यकताको विश्लेषण गरेर ब्याजदरको सीमा १३ प्रतिशत भन्दा कम हुनेगरी तोक्नुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै, विभागले सहकारी संस्थाले हर्जाना लिने निर्णय गरेको अवस्थामा असुल हुन बाँकी ब्याज रकममा ५ प्रतिशत भन्दा बढी हर्जाना लिन नपाइने समेत व्यवस्था गरेको छ ।

विभागले सहकारीहरुले ऋणीसँग प्रशासनिक शुल्क, सेवा शुल्क, नवीकरण शुल्क, फारम दस्तुर लगायतका कुनै पनि शीर्षकमा थप दस्तुर लिन नपाउने व्यवस्था गरेको छ । विभागले यी व्यवस्थाहरु पालना गर्न सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ । विभागले व्यवस्था पालना नगरे कारवाही गर्ने समेत चेतावनी दिएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्