बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु
काभ्रे । काभ्रेको बनेपामा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको अस्पतालमा उपचारका क्रममा निधन भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारी अनुसार बनेपा नगरपालिका–७ चारदोबाटो चोकनजिक शुभकामना हलअगाडि बनेपा–पनौती सडकखण्डमा शुक्रबार बिहान करिब ११:१५ बजे दुर्घटना भएको हो ।
स्कुटरको पछाडि सवार पनौती नगरपालिका–८ मल्पीका ६९ वर्षीय देवेन्द्रबहादुर खत्रीको बनेपास्थित शिर मेमोरियल अस्पतालमा दिउँसो मृत्यु भएको प्रहरीले बताएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा.३ ख २०१४ नम्बरको बसले सोही दिशातर्फ गइरहेको बा.प्र.०२–०४२ प १५९९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
स्कुटर चालक ४१ वर्षीय सन्तोष खत्रीको अवस्था भने सामान्य रहेको बताइएको छ । दुर्घटनाका क्रममा सडकमा पार्किङ गरिएका बा.५१ प ३२० नम्बरको मोटरसाइकल र ‘अन टेस्ट’ टीभीएस मोटरसाइकलमा समेत क्षति पुगेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

















