sevenstartv.com २५ साउन २०८३, सोमवार

यालुङ री हिमालमा ५ जनाको शव फेला, ४ शव काठमाडौँ ल्याइयो

२५ साउन २०८३, सोमवार स्टार संवाददाता

काठमाडौँ - दोलखा रोल्वालिङ हिमश्रृंखला अन्तर्गतको यलुङ री हिमालको आधार शिविरमा फेला परेका ५ जनाको शव निकालिएको छ । साउन २१ मा स्थानीयले हिउँ पग्लिएको ठाउँमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

आधार शिविरमा भेटिएको ४ वटा शव हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको दोलखाका डीएसपी मनोज लामाले  बताए । उनले भने– ‘पोस्टमार्टमका लागि ४ वटा शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।’

एक जना स्थानीयको शव दोलखामा नै पोस्टमार्टम गरिएको डीएसपी लामाले बताए । यलुङ रीमा फेला परेका सबै शवको पहिचान खुलेको छ ।

खराब मौसमका कारण सुरक्षाकर्मीहरुले सातौँ प्रयासमा शव सङ्कलन गरेका हुन् । मृत भेटिएकाहरू गत वर्ष कात्तिक १७ मा यलुङ री आरोहणका क्रममा हिम पहिरोमा बेपत्ता भएका थिए । त्यसबेला आरोहणका क्रममा आधार शिविर नजिकै १५ जना पहिरोमा फसेका थिए । जसमध्ये त्यतिबेलै आठ जनाको घाइते अवस्थामा उद्धार भएको थियो । त्यसबेला दुई जना इटली र फ्रान्सका आरोहीको शव निकालिएको थियो ।

आइतबार सङ्कलन भएका ५ शवमध्ये नेपाली पथप्रर्दशक दोलखाको गौरीशङ्कर गाउँपालिका–९ पदम तामाङ र सोलुखुम्बुको माप्यदुधकुण्ड गाउँपालिका–५ का मेर कार्कीको रहेको डीएसपी लामाले बताए । क्यानडाका मार्को डी मार्सेलो, इटलीका मर्कस करचिलर र जर्मनका क्याकोब इसरिवरको शव पहिचान भएको छ । तीन विदेशी र एक पथ प्रर्दशकको शव काठमाडौँ ल्याइएको छ । दोलखा घर भएका पथप्रदर्शक तामाङको शव चरिकोटमा पोस्टमार्टम गरिने बताइएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्