कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा बस्दै
देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई निम्तो
काठमाडौं । फुटको सँघारमा पुगेको नेपाली कांग्रेसको अबको बाटो कता भन्ने अन्यौल एक पछि अर्को गर्दै कम हुँदै गएको छ । कांग्रेसको १५ औं महाधिवेशनको प्रक्रिया अघि बढि सकेको अवस्थामा कांग्रेसका नेताहरु एक ठाउँमा उभिने संकेत देखा परेको हो ।
विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिको बैठकले समायोजनको निर्णय गरेपछि नेताहरू सानेपा जाने तयारीमा छन् । कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरूलाई सानेपामा आउन आग्रह गर्दै पत्राचार गरिए पछि उनीहरु सानेपा जान तयार भएका हुन् ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनबाट बाहिर रहेकाहरूलाई पनि समायोजन हुन आह्वान गरिसकेको छ । आह्वानपछि देउवानिकटका नेताहरू बैठकमा जान लागेका हुन् ।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकटका नेता पनि सानेपा जाने तयारीमा छन् । कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो सानेपामा बस्दै छ। कांग्रेसको भोलिबाट १५ औँ महाधिवेशन प्रक्रिया सुरू हुँदैछ ।
खड्का निकट नेताहरू सानेपा गएपनि खड्का भने आफैँले सर्वोच्चमा दायर गरेको रिट विचाराधीन नभएकाले नजाने भएका छन् । आज विशेष महाधिवेशनबाट बाहिर रहेका ४० भन्दा बढी केन्द्रीय सानेपा जाने पुग्ने आकलन गरिएको छ ।














