राष्ट्रसंघ महासभामा प्रधानमन्त्री नेतृत्वको टोली जानेबारे संसदीय समितिमा परराष्ट्रमन्त्रीले गराए जानकारी
काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अर्को साता संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी गराएका ।
परराष्ट्रमन्त्री खनालले बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै नेपालका तर्फबाट प्रधानमन्त्री वालेन्द्र साहको नेतृत्वमा आफू लगायतको प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाने जानकारी दिए हो ।
संयुक्त राष्ट्रसंघको महासभा अर्को सातादेखि सुरु हुने र त्यसमा नेपालको प्रतिनिधित्व प्रधानमन्त्रीको नेतृत्वमा हुने जनाएका हुन् । महासभामा नेपालको सहभागिताका क्रममा नेपालको राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध तथा समसामयिक विश्व मुद्दासँग सम्बन्धित विषयहरू उठाइने अपेक्षा गरिएको छ ।
बिहीबारको समितिको बैठकमा जलवायु परिवर्तनसम्बन्धी विषय विज्ञहरूसँग छलफल गर्नुका साथै संयुक्त राष्ट्रसंघको महासभामा परराष्ट्रमन्त्रीको सहभागिताका विषयमा समेत छलफल गरिएको छ ।
बैठकमा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको जोखिम, जलवायु न्याय, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायु वित्तलगायत विषयमा विज्ञहरूले धारणा राखेका थिए । नेपालको अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका मुद्दालाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा पनि छलफल भएको हो ।
परराष्ट्रमन्त्री खनालले महासभामा नेपालको सहभागिता नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक प्राथमिकता प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा रहने जनाएका छन् । महासभामा नेपालको सहभागिताले ठूलो अर्थ राख्ने अपेक्षा गरिएको परराष्ट्रमन्त्री खनालले बताएका छन् ।












