ब्राजिल लगातार पाँचौं पटक च्याम्पियन
काठमाडौं । कोलम्बियालाई पेनाल्टीमा ५-४ ले पराजित गर्दै ब्राजिल लगातार पाँचौं तथा समग्रमा नवौं पटक महिला कोपा अमेरिकाको च्याम्पियन बनेको छ ।
रोड्रिगो पाज डेल्गाडोमा आइतबार सम्पन्न फाइनलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टोलीबाट ४–४ गोल भएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लगाइएको हो ।
पेनाल्टीमा ब्राजिलका लागि टार्सियन, अमान्डा गुटियर्स, मारिजा, जोनसन र लुआनीले गोल गरे। एन्जेलिना र मार्टा भने चुके । कोलम्बियाका लागि क्याटलिना उस्मे, मार्सेला रेस्ट्रेपो, लिन्डा काइसेडो, वेन्डी बोनिलाले गोल गरे। मानुएला पावी, लीसी सान्तोस र जोरेलिन काराबालीको प्रहार भने गोलमा परिणत हुन सकेन।
त्यसअघि ब्राजिलका लागि मार्टाले दुई तथा एन्जेलिना र अमान्डा गुटियर्सले समान एक गोल गरेका थिए। कोलम्बियाका लागि लिन्डा काइसेडो, जोरलिन काराबाली र मायरा रामिरेजले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । खेलको २५औं मिनेटमा काइसेडोको गोलमार्फत कोलम्बियाले अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा एन्जेलिनाले पेनाल्टीमार्फत गोल गर्दै ब्राजिललाई बराबरीमा ल्याइन् ।
टार्सियनबाट ६९औं मिनेटमा आत्मघाती गोल हुन पुग्दा कोलम्बिया २-१ ले अगाडि बढ्यो । ८०औं मिनेटमा गुटियर्सले गोल गर्दा ब्राजिल २–२ को बराबरीमा आयो ।त्यसको आठ मिनेटपछि नै रामिरेजले गोल गर्दा कोलम्बियाको अग्रता ३-२ मा पुग्यो। खेलको इन्जुरी समयमा मार्टाले गोल गर्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
मार्र्टाले १०५औं मिनेटमा गोल गर्दा ब्राजिल ४–३ ले अगाडि बढ्यो। ११५औं मिनटेमा सान्तोसले गोल गर्पछि खेल पेनाल्टीसम्म पुगेको थियो । सेमिफाइनलमा ब्राजिलले उरुग्वे तथा कोलम्बियाले अर्जेन्टिनालालई पराजित गरेका थिए ।

.gif)