आईपीएल : मुम्बई इन्डियन्स र राजस्थान रोयल्स भिड्दै
पञ्जाव र कोलकताबीचको खेल वर्षाका कारण अवरुद्ध
काठमाडौं । पाँचपटकको विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा आज एकपटकको विजेता राजस्थान रोयल्सविरुद्ध चुनौती पेस गर्दै छ ।
खेलमा राजस्थान लगातार तेस्रो जितको खोजीमा हुनेछ । तालिकाको तेस्रो स्थानमा रहेको राजस्थानले दुई खेल खेल्दा शतप्रतिशत जित निकालेको छ । राजस्थानले पहिलो खेलमा चेन्नाई सुपर किङ्सलाई ८ विकेटले पराजित गर्दा दोस्रो खेलमा गुजरात टाइटान्सलाई ६ रनले पराजित गरेको थियो ।
मुम्बई भने दोस्रो जितको खोजीमा हुनेछ । मुम्बईले दुई खेल खेल्दा एक जित र हार व्यहोर्दै दुई अंक जोडेको छ । मुम्बईले पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराएको थियो भने दिल्ली क्यापिटल्ससँग ६ विकेटको जित निकालेको थियो ।
यी दुईबीचको खेल भारतको गुवातीस्थित बरसापारा क्रिकेट मैदानमा नेपाली समयअनुसार बेलुका ७ः४५ बजे हुनेछ । हिजो वर्षाका कारण पञ्जाव र कोलकताबीचको खेल रद्ध भएको थियो ।
