अर्थमन्त्री पौडेल र मलेसिया-नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलको टोलीबीच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र नेपाल भ्रमणमा रहेको मलेसिया-नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलको टोलीबीच भेटवार्ता भएको छ ।
शुक्रबार अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपालमा लगानी सिर्जना गरी रोजगारी सिर्जना गर्नेबारे छलफल भएको हो । भेटमा सहभागीहरुले सूचना प्रविधि, व्यापार, हाइड्रो, पूर्वाधार, वातावरण, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्नेबारे चासो व्यक्त गरेका छन् ।
प्रतिनिधि मण्डलमा मलेसिया-नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा. चाइ कि खान, गणेशकुमार वनगाह, एमके संग्राह लगायत सहभागी थिए । भेटपछि कुराकानी गर्दै मलेसिया-नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजाले नेपालमा बेरोगारी दर उच्च रहेको बताउँदै सम्भावना धेरै भएकाले लगानी विस्तार गरेर रोजगारी सिर्जना गर्न सकिने बताए ।
सो क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन् । सचिवालयकाअनुसार लगानीकर्तालाई नेपालको पूर्वधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले थप लगानी गर्न अनुरोध गरे ।
