राष्ट्रिय ट्रमा सेन्टरमा आईसियु सेवा थप र एमआरआई जडान गर्न सरकारको ध्यानाकर्षण
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद् घनश्याम रिजालले राजधानीस्थित राष्ट्रिय ट्रमा सेन्टरमा आईसियु सेवा विस्तार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार राष्ट्रियसभाको बैठकमा सांसद् रिजालले ट्रमा सेन्टरमा आईसियु सेवा विस्तार तथा एमआरआई सेवा संचालन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार ट्रमा अस्पतालमा बेड क्षमताको कम्तीमा ३० प्रतिशत आईसियु सेवा उपलब्ध हुनुपर्नेमा ट्रमा सेन्टरमा उक्त मापदण्डको पालना नगरिएको बताए ।
उनकाअनुसार ट्रमा अस्पतालमा हाल २०० बेडमध्ये १० वटा मात्रै आईसियु कक्ष संचालनमा छन् । उनले ट्रमा सेन्टरमा अहिले कार्यरत जनशक्तिले नै थप ५० आईसियु सेवा दिनसक्ने सम्भावना रहेको भन्दै तत्काल सेवा विस्तार र एमआरआई जडानका लागि सरकारसँग माग गरेका छन् ।
