समाजवादी विद्यार्थीमा लफडा, न्यौपानेमाथि कारबाही हुने
काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठनमा लफडा भएको छ । समाजवादी निकट अनेरास्ववियूमा असन्तुष्ट पक्षले समानान्तर कमिटी घोषणा गरेपछि भाँडभैलो मच्चिएको हो ।
सङ्गठनको अध्यक्षको जिम्मेवारी महेश श्रेष्ठलाई दिएपछि रुष्ट बनेकाहरूले नरेश न्यौपानेको नेतृत्वमा नयाँ कमिटीको घोषणा गरेका छन् । न्यौपाने समूहले प्रकाश श्रेष्ठलाई महासचिव बनाएको छ । उनीहरूले पदाधिकारीसहित १ सय ६७ सदस्यीय नयाँ केन्द्रीय समिति घोषणा गरेर सङ्गठन नै विभाजित गरेका छन् । तर सङ्गठनका अध्यक्ष महेश श्रेष्ठले भने न्यौपाने पार्टीविरुद्ध लागेकोले कारबाही हुने चेतावनी दिएका छन् । न्यौपानेलाई पार्र्टीका कुनै नेताले साथ नदिएपछि एमाले र माओवादीमा पस्न पदको बार्गेनिङ गरिरहेको अध्यक्ष श्रेष्ठले खलासा गरेका छन् । तर अरु पार्टीले पनि नलिएपछि न्यौपानेले समाजवादीको संगठनमै भाँडभैलो मच्च्याएको श्रेष्ठको भनाई छ ।
समाजवादी निकट विद्याथी संगठनमा यसअघि विभिन्न पटक कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत पाएका न्यौपाने पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयको योजना अनुसार परिचालित हुने गरेकोको श्रेष्ठको आरोप छ ।
