जनतालाई स्वतन्त्र र सार्वभौम बनाउने सपूतहरूको योगदान बिर्सिनुहुन्न : उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली जनतालाई स्वतन्त्र र सार्वभौम बनाउने महान सपूतहरूको योगदान राज्यले बिर्सिन नहुने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजित शिर्षकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री सिंहले यस्तो बताएका हुन् । उनले देश र जनताको लागि जीवन अर्पण गरेका महामानवप्रति कृतज्ञता अर्पण गर्न विगतदेखि नै राज्यले उनीहरूको नाममा विकास योजना र कार्यक्रम गर्दै आएको बताए ।
राणाहरूको जहानीय शासनको मोतीयुगिन सामन्ती पिँजडामा थुनिएका जनतालाई स्वतन्त्र र सार्वभौम नागरिक बनाउन सङ्घर्ष गरेका विपी कोईराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदनकुमार भण्डारी लगायतका सपूतहरूको योगदानको अतुलनीय रहेको बताए । उनले मङ्गलादेवी सिंह, द्वारिकादेवी ठकुरानी, शैलजा आचार्य, साना प्रधान र साधना प्रधान लगायतका महिलाहरूको सङ्घर्ष र योगदान पनि अविस्मरणीय रहेको जिकिर गरेका छन् ।
मन्त्री सिंहले यस वर्ष पनि सोनामधन्य महामानवप्रति कृतज्ञता स्वरूप केही योजनामा बजेट विनियोजन गरिएको स्पष्टीकरण दिए । उनले महान सपूतहरूको योगदानको ऋण जनताले तिर्न नसके पनि कृतज्ञता व्यक्त गर्नसक्ने धारणा राखे । उनले ती सपूतहरू अब व्यक्ति नभई राज्यको प्रतीकको रूपमा रहनुभएकोले उनीहरूको सम्मान गर्नु राष्ट्रको दायित्व रहेको बताएका छन् ।
