इजरायल र इरानमा रहेका नेपालीहरूको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रियसभामा नेकपा एमालेकी संसदीय दलकी नेता भगवती न्यौपानेले इजरायल र इरानमा रहेका नेपालीहरूको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बिहीबार बसेको राष्ट्रियसभा बैठकमा उनले सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले इजरायल र इरानबिच द्वन्द्व चलिरहेको बताउँदै इजरायलमा लगभग ७ हजार र इरानमा एक दर्जन नेपालीहरू रहेको तथ्याङ्क सार्वजनिक भएको बताइन् ।
उनले सरकारले नेपालीहरूको सुरक्षाको निम्ति ध्यान दिने विषयमा पहलकदमी र चासो देखाएको बताउँदै श्रम मन्त्रालयको आयोजनामा सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरूलाई राखेर बैठक समेत बसेको बताइन् ।
उनले इजरायलको तेलअभिवस्थित नेपाली दूतावासले नेपालीहरूको विवरण सङ्कलन गरिरहेको बताउँदै फर्किन चाहने नेपालीलाई फर्काउने र त्यहीँ रहनेहरूको सुरक्षाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
