sevenstartv.com २० वैशाख २०८३, आइतवार

पूर्वाधार विकास समितिका सदस्यहरूद्वारा ग्वार्को फ्लाई ओभरको स्थलगत अनुगमन

४ असार २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सदस्यहरूले ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको स्थलगत अनुगमन गरेका छन् । 

समितिका सभापति दीपकबहादुर सिंहको संयोजकत्वमा समितिका सदस्यहरूले बुधवार फ्लाई ओभरको स्थलगत अनुगमन गरेका हुन् । सो अवसरमा समितिका सभापति सिंहले पहिलो पटक निर्माण भएकोले यसलाई सकारात्मक सोच्नुपर्ने बताए । 

उनले जामलाई व्यवस्थित र नियन्त्रण गर्न एउटा मात्रै फ्लाई ओभरले नपुग्ने बताउँदै १७/१८ ठाउँमा बताउनुपर्ने बताएका छन् । उनले फ्लाई ओभर ब्रिजमाथि जाम नभए पनि तल्लो सडकमा जाम हुने जिकिर गर्दै त्यसको नियन्त्रणको लागि पनि नीति बनाएर काम सुरु गर्नुपर्नेमा जोड दिए । 

स्थलगत अनुगमनका क्रममा नेकपा एमालेका सांसद् ठाकुरप्रसाद गैरेले फ्लाई ओभर आफैँमा नयाँ प्रोजेक्ट भएकोले निर्धारित बजेट मै सम्पन्न हुनु सुखद् पक्ष भएको बताएका छन् । उनले ट्राफिक लाइट र दुर्घटना न्युनिकरणको लागि सिसिटिभी क्यामेरा जडान लगायतका प्राविधिक हिसावले यात्रालाई सुरक्षित बनाउन सरकारले ध्यान दिनुपर्ने बताए । 

उनले फ्लाई ओभरसँगै यसको दायाँबायाँबाट हुने यात्रालाई सुरक्षित बनाउन सुरक्षा मापदण्डको खोजी हुने भएकोले त्यसमा सरकारले गम्भीर रूपमा ध्यान दिनुपर्नेमा जोड दिए । 

२०७८ फागुनमा ओभर पास निर्माण दुई वर्षभित्र सक्ने गरी शुरु गरिए पनि पटक–पटक म्याद थप र निर्माणको डिजाइन नै परिवर्तन गरी ३९ महिनामा फ्लाई ओभरको निर्माण सम्पन्न भएको हो । उक्त फ्लाई ओभरको आगामी शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्य तालिका रहेको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्