नक्कली महानगर यातायातका कारण कम्पनी तथा यात्रुहरुले समस्या झेल्नुपरेको छ : सन्तोष खतिवडा
काठमाडौं । महानगर यातायातका अध्यक्ष सन्तोष खतिवडाले नक्कली महानगर यातायातका कारण कम्पनी तथा यात्रुहरुले समस्या झेल्नुपरेको बताएका छन् ।
नाम, रङ्ग र डिजाइनसमेत नक्कलगरी एउटै रुटमा सञ्चालन गरिएको विषयमा पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदासमेत कुनै कारबाही नभएको अध्यक्ष खतिवडाले बताएका हुन् ।
उनले विद्यामान नियम, कानुनको धज्जी उडाउँदै महानगर यातायात सञ्चालनको शुरुवाती दिनदेखि नै नक्कली महानगर यातायात सोही रुटमा सञ्चालन हुनु र नियमनकारी निकायले ध्यान नदिने दुःखको विषय भएको स्पष्ट पारे । सडक दुर्घटना, सामान छुट्ने लगायतका घटनामा पीडित यात्रुले न्याय पाउन नसकिरहेको अवस्थासँगै महानगर यातायातले पनि अनावश्यक झण्झट व्यहोर्नु परेको उनले दाबी गरे ।
अध्यक्ष खतिवडाले लाखौं यात्रुको सेवा र सुरक्षासँग जोडिएको विषय भएकाले अब उपरान्त महानगरको नाम र डिजाइन सवारी साधनबाट नहटाएमा क्षतिपूर्तिको मागसहित कानूनी कारबाही गर्नसमेत पछि नपर्ने चेतावनी दिएका छन् ।
