बझाङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु
काठमाडौं । बझाङमा पहिरोमा परेर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
अन्य ६ जनाले भागेर ज्यान बचाएका छन् । गएराति बुङ्गल नगरपालिका वडा नम्बर १० टुमेडाका बीरबहादुर धामीको घर पहिरोले पुरिँदा उनकी श्रीमती ५५ वर्षीया काली धामी, बुहारी २५ वर्षीया गोल्की धामी तथा नातिनीहरु ६ वर्षकी आकृती र तीन वर्षकी लक्ष्मीको मृत्यु भएको सुदूरपश्चिम प्रहरी कार्यालयले जनाएको छ ।
गएराति १ बजेतिर झरेको पहिरोले घर पुरेको हो । पहिरो घरमा खस्दा परिवारका नौ जना र एक जना पाहुना समेत १० जना रहेकामा ६ जनाले भागेर ज्यान बचाएका छन ।
शव प्रहरी र स्थानीयबासिन्दाको टोलीले निकालेको हो । पहिरोमा पाँच वटा बाख्रा पनि पुरिएका छन् ।
