गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्ने भक्तजनको बिहानैदेखि घुइँचो
काठमाडौं । रसुवा स्थित गोसाइँकुण्डमा जनैपूर्णिमाका अवसरमा स्नान एवं पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ ।
समुद्र सतहदेखि १४ हजार एक सय फिट उचाइमा सो अवस्थित पवित्र तीर्थस्थल रहेको छ । आज बिहान सबेरैदेखि कुण्डमा स्नानको एवं पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
जनैपूर्णिमाकोे दिन पूजाआजा गर्नाले सम्पूर्ण देवताको दर्शन पाई मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ भक्तजन कुण्ड अर्थात् निलाद्री पर्वत पुग्ने गर्दछन् । भक्तजन स्नानका लागि निलाद्री पर्वत जानेक्रम जारी रहेको समितिले जनाएको छ ।
तीर्थस्थलमा भक्तजनको चाप बढ्ने भएका कारण प्रहरी निरीक्षकको कमाण्डमा यथेष्ट सुरक्षा गस्ती परिचालन गरिएको छ । लेक लागेका यात्रीलाई हिमालय उद्वार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर मार्फत् प्राथमिक उपचार गरिरहेको छ ।
तीर्थयात्रीका लागि एक सय ३० बस, तीन सय पाँच जिप, कार, भ्यान र चार सय २० मोटरसाइकल गोसाइँकुण्ड गाउँपालिका-६ ले व्यवस्थापन गरेको छ ।
