रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा महिलाको मृत्यु, गठ्ठाघरको अवस्था तनावपूर्ण
काठमाडौं । भक्तपुरको गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ ।
महिलाको मृत्यु भएपछी आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमा आगो लगाएका छन् । यद्यपी प्रहरीले तत्काल आगो निभाएको छ । अवस्था तनावपूर्ण बनेपछि अहिले त्यहाँ सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
बा ४९ प ८९४४ नम्बरको स्कुटर ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरिरहेको थियो । ना ६ ख २१७३ नम्बरको ट्रकले एक्कासि ब्रेक लगाउँदा स्कुटरलाई करिब २० मिटर घिसारेको हो । ट्राफिकले लुकेर चेकजाँच गरेको र ट्रकले एक्कासि ब्रेक लगाउँदा दुर्घटना निम्तिएको भन्दै सर्वसाधारणले विरोध गरेका हुन् । यस क्रममा केही सवारीसाधनमा तोडफोडसमेत गरिएको छ ।
मृतकको सनाखत हुन सकेको छैन । घटना स्थलमा तनाव भएकाले थप प्रक्रिया सुरु गर्न नसकेको प्रहरीले जनाएको छ ।
