चाडपर्वहरूले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकतामा बाँध्ने गरेको छ : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकतामा बाँध्ने गरेको बताएका छन् ।
तिहारका अवसरमा शुभकामना दिदै राष्ट्रपति पौडेलले नेपालमा मनाइने विभिन्न चाडपर्वले विविधतालाई एकतामा बाँध्ने कार्य गर्दै आएको बताएका हुन् । उनले शुभकामना सन्देशमा भनेका छन्, 'यी चाडपर्वहरूले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकतामा बाँध्ने गरेको छ ।'
उनले पौराणिक, व्यावहारिक, साँस्कृतिक, मनोवैज्ञानिक एवं वैज्ञानिक महत्त्व बोकेको तिहार उज्यालो र प्रकाशको पर्व पनि भएको बताएका छन्। ‘उज्यालो आफैँमा प्रेरणाको विम्ब हो । तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हाम्रो जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस्’, उनले भनेका छन् ।

