आज सोह्रश्राद्धको अन्तिम दिन
काठमाडौं । आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ । आज औँसी श्राद्ध पनि गरिन्छ ।
पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध भनिन्छ ।कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।
कुनै कारणवश रोकिए आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय मान्यता छ । दशैँ, तिहार र छठजस्ता महान चाडवाडअघि पितृहरुलाई तृप्त गर्न एउटापक्ष भरि नै तर्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा छ ।
