आजदेखि सोह्र श्राद्ध शुरु
काठमाडौं । सोह्र श्राद्ध शुरु भएको छ । आज प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ । आज पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ । प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो ।
मूल वैदिक परम्पराअनुसारको तिथिपत्रमा पनि बुधबार नै प्रतिपदा उल्लेख छ । वैदिक परम्परामा तिथि टुट्दैन । एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म एउटै तिथि रहन्छ । सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षका १५ दिनलाई पितृपक्षका रूपमा मनाउँछन् । यो वेला गरिने श्राद्धलाई महालय वा पार्वण पनि भनिन्छ ।
यो पक्षका १५ दिनमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथिसमेत समावेश गरी सोह्र तिथिमा श्राद्ध गरिने भएकाले सोह्र श्राद्ध भनिन्छ । भाद्रशुक्ल पूर्णिमादेखि आश्विनकृष्ण औँसी वा आश्विनकृष्ण प्रतिपदादेखि आश्विनशुक्ल प्रतिपदासम्मका तिथिलाई लिएर सोह्र दिन पुर्याइन्छ ।
यी १६ तिथिमध्ये आफ्ना पितृ दिवंगत भएको एक तिथिमा श्राद्ध गर्ने परम्परा छ । असोज १६ गते औँसी श्राद्ध गरेपछि सोह्र श्राद्ध सम्पन्न हुनेछ ।
