sevenstartv.com २० साउन २०८३, बुधवार

सुनकोशी नदीमा खसेको कार अझै परेन फेला, खोजी कार्य तिव्र रुपमा हुँदै

पीडित पक्षले गरे मध्यपहाडी लोकमार्ग अवरुद्ध

१९ साउन २०८३, मङ्गलवार स्टार संवाददाता

सिन्धुली ।काठमाडौंबाट ओलखढुंगाको सुनकोसी गाउँपालिका वडा नं. ३ सिस्नेरी तर्फ जाँदै गरेको यात्रु बाहक बसले ठक्कर दिएर सुनकोसी नदीमा खसेको  कार र सो कारमा सवार व्यक्तिहरुको  खाेजी कार्य जारी रहेको छ । सोमबार अपरान्ह् सुनकोसीमा खसेको कारको तिव्र रुपमा खोजि भई रहेको फिक्कल गाउँपालिका उपाध्यक्ष राजु बरालले जानकारी गराएका हुन् ।

मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा सुनकोशी नदीमा खसेको कारमा सवार सिन्धुपाल्चोकको जुगल गाउँपालिका ७ का अन्दाजी ३९ बर्षिया दिल कुमार लामा र सिन्धुलीको गोलन्जोर गाउँपालिका १ का स्काभेटर चालक गणेश थापा, सिन्धुलीको तीनपाटन गाउँपालिका ९ डाँडाखर्कका १७ बर्षिया सुजन बलमपाकी मगर रहेका छन् ।

उनीहरुको खोजी कार्यलाई थप तिव्रता दिन सिन्धुपाल्चोकको जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबो लगाएतको टोली घटना स्थल पुगेको बरालले बताए । सुनकोशी नदीमा बेपत्ता भएका तीन जना र कारको खोजी कार्य भए पनि अहिले सम्म नभेटिएको उपाध्यक्षले बरालले पुष्टि गरेका छन् । सोमबार दिनभरको खोजी कार्य असफल भएपछि राति ८ बजेपछि खोजी कार्य स्थगित गरिएको थियो । बरालका अनुसार मंगलबार बिहानैदेखि पुनः खोजी कार्य अगाडि बढाइएको छ । यद्यपि केही पनि फेला परेको छैन ।

बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले सोही दिशामा रोकि राखेको सडक विभाग यान्त्रिक कार्यालय मुल्कोट अन्तर्गत मध्य पहाडी लोकमार्गको पुनर्निर्माण कार्यमा संलग्न कम्पनीको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिएको थियो । सोमबार दिउँसो १२ः४५ बजे बसको ठक्करबाट कार सडकबाट करिब ५० फिट तल सुनकोसी नदीमा खसेको थियो ।

सो बस चालक फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय हेमबहादुर तामाङ रहेको र उनलाई सोमबार नै प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय खुर्कोट हुँदै सिन्धुलि सदरमुकाम लगेको उपाध्यक्ष बरालले जानकारी गराएका छन् । घटनापछि खोजी कार्यको लागि विपद् व्यवस्थापन वेश खुर्कोटबाट शसस्त्र प्रहरीको गोताखोर टोली सहित नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहभागितामा बेपत्ता भएका व्यक्तिहरूको खोजी गरिएको छ ।

सुनकोशी नदीको बहाव ठूलो भएकाले बेपत्ता कार र मानिसहरुको खोजीमा समस्या भएको छ । बर्षायामको समय र सागुँरो ठाउँ भएकाले नदीको तिव्र बहाव, धमिलो पानीका कारण खोजी कार्यमा समस्या भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक रविन्द्र बहादुर सिंहले बताएका छन् ।

फिक्कल गाउँपालिका वडा नं. २ नवलपुरमा पीडित परिवारले मंगलबार बिहानैदेखि सडक चक्काजाम गरेको जिल्ला प्रहरी प्रमुख एसपी सिंहले जानकारी गराएका छन् । उनीहरूले उचित क्षतिपूर्ति र वार्ताको माग गर्दै मध्यपहाडी लोकमार्गमा टायर बालेर सडक अवरुद्ध गरेका हुन् ।

 सिंहका अनुसार पीडित पक्षसँग वार्ताको पहल भईरहेको र उक्त स्थानमा डीएसपी विजय श्रेष्ठको नेतृत्वमा सहजीकरण भइरहेको छ । स्थानीयले दुर्घटना भएको २४ घण्टा वित्न लाग्दा समेत नभेटीएकोले बेपत्ता रहेका व्यक्तिहरुको खोजी कार्य तीव्र हुनुपर्ने बस धनी र समितिले घटनालाई बेवास्ता गरेको, घटनाको सत्य, तथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्नुपर्ने  र उचित क्षतिपूर्तिको माग गर्दै पीडित परिवारले सडक अवरुद्ध गरेका हुन् ।

 बेपत्ता व्यक्तिहरुको खोजीलाई थप सहज गराउन स्थानिय जनप्रतिनीहरुले सकेसम्मको सहजीकरण गरिरहेका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्