सुनसरीका १० स्थानीय तहमा आइतबार बिहानसम्मका लागि थपियो निषेधाज्ञा
सुनसरी । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका १० स्थानीय तहमा लागू गरिएको निषेधाज्ञाको समयाअवधि आइतबार बिहान ९ बजेसम्मका लागि थप गरेको छ । गत आइतबारबाट अशान्त बनेको सुनसरीमा यसअघि शनिबार बिहान ८ः३० बजेदेखि साँझ ५ बजेसम्म लागू गरिएको छ ।
देवानगञ्जमा भएको हिंसात्मक घटनापछि जिल्लाका संवेदनशील क्षेत्रमा प्रशासनले सुरक्षा सतर्कता बढाउँदै कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरेको थियो । पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दै प्रशासनले निषेधाज्ञाको अवधि पुनः थप गरेको हो।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले निषेधाज्ञालाई सुरक्षा अवस्थालाई विशेष मध्यनजर गर्दै आइतबार बिहान ९ बजेसम्म निरन्तरता दिइएको बताएका छन् । निषेधाज्ञा अवधिभर एक स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, धर्ना, जुलुस, प्रदर्शन, सभा तथा यस्तै प्रकृतिका गतिविधि गर्न रोक लगाइएको छ।
प्रमुख जिल्ला अधिकारी अर्यालद्वारा जारी आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो ।
निषेधाज्ञा इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका र बर्जु गाउँपालिकामा लागू रहने प्रशासनले जनाएको छ।
















