सुनसरीका १० स्थानीय तहमा कर्फ्यु कायम
दिउँसो ४ बजे जिल्ला प्रशासनले मृतकका परिवारसँग थप छलफल गर्ने
सुनसरी । सुनसरीका १० स्थानीय तहमा बिहीबार पनि दिनभर कर्फ्यु आदेश कायम रहेको छ । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार राति ९ बजेदेखि जारी गरेको कर्फ्यु आदेश बिहीबार दिनभर लागू रहने जानाकारी गराइएको छ।
सुरक्षाको अवस्था क्रमशः सहज बन्दै गए पनि मृतकका परिवारसँग सहमति हुन नसकेका ले कर्फ्युलाई निरन्तरता दिइएको बताइएको छ । यता प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी रहेको छ । आज दिउँसो ४ बजे जिल्ला प्रशासनले मृतकका परिवारसँग थप छलफल गर्ने तयारी गरेको सुरक्षा स्रोतको भनाई छ ।
घटनापछि विगत पाँच दिनदेखि प्रशासन र मृतक परिवारबीच प्रभावकारी समन्वय हुन नसक्दा मृतकको शव अझै अस्पतालमै थन्किएर बसेको अवस्था छ ।
मृतकका परिवारले मृतकलाई सहिद घोषणा गर्न, उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा घटनाका दोषीमाथि कडा कारबाही हुनु पर्ने माग राख्दै कारबाही नभएसम्म शव नबुझ्ने अडान कायम राखे पछि कर्फ्युलाई निरन्तरता दिनु पर्ने अवस्थाको सिर्जना भए को सुरक्षा निकाएले बताएको छ ।
प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न, अफवाह नफैलाउन तथा अफवाहका पछि नदौडिन आग्रह गर्दै शान्ति–सुरक्षा कायम राख्न सबैको सहयोग अपरिहार्य रहेको बताएको छ ।




















