कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले डाके सर्वदलीय बैठक
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वदलीय बैठकको आवहन गरेका छन् । प्रदेश प्रमुख सचिव राजेन्द्रकुमार पौडेलले पछिल्लो सुनसरी घटना क्रम र त्यस पश्चात उत्पन्न असामान्य परिस्थितिलाई मध्यनजर गर्दै सर्वदलीय बैठकको आह्वान गरिएको बताएका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा दिउँसो १२ः ३० बजेका लागि आव्हान गरिएको बैठकमा सुरक्षा निकायसहित सुनसरीका प्रदेश सांसद र राजनीतिक दलका प्रदेशस्तरीय नेताहरुको सहभागीता रहने सचिब पौडेलको भनाई छ ।
शान्ति सुरक्षा र सामाजिक सद्भावलाई कायम राख्नेबारे छलफल हुने र प्रदेश सरकारको उपस्थिति प्रभावकारी बनाउने बारे बैठकमा छलफल हुने जानकारी गराइएको छ । यसअघि मुख्यमन्त्री कार्कीले भिडिओ सन्देशमार्फत सामाजिक सद्भाव कायम राख्नका लागि आम नागरिक समक्ष आव्हान समेत गरेका थिए ।
कार्कीले सुरक्षा निकायसँग पनि समन्वय गरिरहेको बताएका छन् । प्रदेशका मन्त्री र सचिवले अस्पताल पुगेर घाइतेहरू भेटे गरि स्वास्थ्य अवस्थाको जानकारी लिनुका साथै उपचारमा कुनै समस्या नहोस भनि अस्पताल प्रशासनलाई आग्रह गरेका थिए ।




















