गणेश नेपाली आत्मदाह प्रकरण : सरकारी पक्ष र नेपालीको परिवारविच जुटेन सहमति
काठमाडौं । सार्वजनिक स्थलमा आत्मदाह गरेर ज्यान गुमाएका मुगुका गणेश नेपालीको न्यायका लागि काठमाडौंको वीर अस्पताल अगाडि प्रदर्शन भएको छ ।
शनिबार दिउँसो सरकार र सत्तारुढ दल रास्वपाको विरोध गर्दै प्रदर्शन भइरहेको छ ।
मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले बिहीबार दिउँसो करिब २ बजे त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । गणेशको मृत्युको खबर फैलिए पछि वीर अस्पताल लगायत देशका विभिन्न स्थानमा सरकारको चर्को आलोचना र विरोध भई रहेको छ ।
अघि पछिको समयमा बिरामीका आफन्तको सामान्य चहलपहल देखिने अस्पताल परिसर एकाएक शोक, आक्रोश र अन्योलले भरिएको छ । प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछानेको नाम लिँदै नारा लगाइरहेका छन् । हाल सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
नेपालीको शव आफन्तले बुझेका छैनन् । उनको शव अहिले त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ । सरकारी पक्षले हिजोदेखि नै नेपालीको परिवारसँग वार्ता थालेको थियो । यद्यपि सहमति भने जुट्न सकेको छैन । काठमाडौं महानगरपालिकाको बढ्दो गुण्डागर्दि र रमिते बनेका सुरक्षा निकायका व्यक्तिहरु माथि जनताको विस्वास झन खस्कदै जान यस घटनाले अझ बाध्य बनाएको छ ।




















