sevenstartv.com २६ जेठ २०८३, मङ्गलवार

नागरिकका मागहरूलाई बेवास्ता नगरियोस् : गगन थापा

लहडका भरमा कानुन मिच्न पाइदैन

९ वैशाख २०८३, बुधवार स्टार संवाददाता

विराटनगर । नागरिकका मागहरूलाई बेवास्ता  गरेको भन्दै नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार समक्ष आक्रोश पोखेका छन् । सभापति थापाले सरकारले जनताको आवाज नसुनेको खण्डमा सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै थापाले सरकारले कतिपय निर्णयहरू कानुन मिचेर ‘लहडका भरमा’ गरिरहेको आरोप समेत लगाएका छन्। सरकारलाई सचेत गराउँदै उनले कुनै पनि नेपाली नागरिकमाथि अनुसन्धान गर्ने सरकारको अधिकारलाई कांग्रेसले सधै सम्मान गर्ने जानकारी गराए । तर, अनुसन्धानका नाममा राज्यका निकायहरूले कानुनको पालना गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

सरकारसँग सभापति थापाले भदौ २४ गतेको आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष र न्यायिक छानबिन गर्न माग गरेका छन् । भदौ २४ गतेको घटनाको छानबिन गर्न माग गर्दै थापाले सरकारले जनताका मागहरू पूरा नगरेको खण्डमा ती माग कसरी पूरा गराउने र आवाजलाई कसरी ठुलो बनाउने भन्ने राम्रोसँग थाहा भएको उल्लेख गर्दै पछिल्लो समय सरकारले आफ्ना मनमा लागेका कुरा गर्न विधि र विधान मिच्ने काम गरेको तथा यस्ता विषयमा कांग्रेसलेले सरकारको ध्यानाकर्षण गराएको उनले थपे ।

प्रतिपक्षको भुमिका कमजोर, निरिह रहेको चौतर्फि आलोचना चलरिहेको बेला सभापति थापाले कांग्रेसको भूमिकाबारे प्रस्ट पार्दै भने, ‘हामी सङ्घीय संसदमा प्रतिपक्षमा छौँ तर सातै प्रदेशमा सरकारमा छौँ । केन्द्रीय कार्यसमितिको बैठकबाटै हामीले निर्णय गरेका छौँ कि सरकारका राम्रा काममा हाम्रो समर्थन रहन्छ ।’  उनले थपे, ‘प्रतिपक्षी भएर कुरा उठाउँदा हामी तथ्यमा आधारित भएर उठाउँछौँ । जनहितका विषयमा सरकार चुक्दा कांग्रेस दरो भएर उभिन्छ ।’

गृहमन्त्री सुधन गुरुङको विषयमा भने  थापाले पार्टीले आधिकारिक धारणा सार्वजनिक गरिसकेको जनाउदै धेरै टिप्पणी गरेनन् । उनले भने, ‘गृहमन्त्रीको विषयमा पार्टीले जे भन्नुपर्ने हो, भनिसकेको छ ।’ सो सम्मेलनमा उनले पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।  १५ महाधिवेशनमा सबै सँगै जाने जानकारी गराउँदै आन्तरिक समस्यालाई जति सक्दो छिटो किनारा लगाउने उनको भनाई छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्