sevenstartv.com २६ फागुन २०८२, मङ्गलवार

सर्लाही-४ मा रास्वपाका सिंह विजयी

२४ फागुन २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन् । बिहीबार सम्पन्न प्रतिनिभिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले ३५ हजार ६८८ मत प्राप्त गर्दा उनका निकटतम नेपाली कांग्रेस सभापति गगनकुमार थापाले २२ हजार ८३८ मत पाए । रास्वपाका सिंहले यस क्षेत्रमा मतगणनाको प्रारम्भदेखि नै अग्रता कायम गरेका थिए ।

सिंह र थापाबीचको मतान्तर १२ हजार ८५० रहेको छ । यसअघि यो क्षेत्रमा सिंह स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका थिए । सिंह यसअघि नेपाली कांग्रेसबाट दुई पटक र २०७९ मा स्वतन्त्रबाट उम्मेदवारी दिएर निर्वाचित भएका थिए । यो पटक नेपाली कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारसमेत घोषणा गर्दै सभापति थापालाई सर्लाही ४ बाट उठाएको थियो ।

क्षेत्र नं. ४ को नतिजासँगै सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा रास्वपाले ‘क्लिनस्वीप’ गरेको छ । नेकपा एमालेका उम्मेदवार अमनिशकुमार यादवले नौ हजार ३४३, नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार रजनिश राय यादवले एक हजार ४०१ र जनमतका उम्मेदवार राकेश मिश्राले एक हजार ५७२ मत प्राप्त गरेको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले जानकारी दिए । एक लाख २१ हजार १२ जना मतदाता रहेका यस क्षेत्रमा ७७ हजार ९३१ मत खसेको थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्