अदालतले गर्यो दुर्गा प्रसाईँलाई तत्काल छाड्न अस्वीकार
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिटमा अदालतले तत्काल रिहा गर्न अस्वीकार गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । राजसंस्था पुनर्स्थापनाको माग गर्दै विभिन्न किसिमका आन्दोलन गर्दै आएका प्रसाईँलाई केही दिनअघि मात्रै प्रहरीले पक्राउ गरेको थियो ।
भक्तपुरस्थित निवासबाटै प्रहरीले प्रसाईँलाई पक्राउ गरी सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । गत आइतबार मात्रै व्यवसायी प्रसाईँलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । त्यसको विरुद्ध प्रसाईँ बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । प्रसाईँको तर्फबाट अधिवक्ता सुरेश बोहराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका हुन् ।
यस आदेशसँगै अब निर्वाचन अगाडि प्रसाईँको रिहाइ करिब करिब सकिएको छ । प्रहरीले यति बेला प्रसाईँलाई सार्वजनिक शान्तिमा खलल पुराएको आरोपमा पक्राउ गरेको हो । प्रसाईँ समूहले मंगलबार मात्रै महाराजगन्ज क्षेत्रमा दुई वटा कारमा समेत आगजनी गरेको आरोप छ । प्रसाईँ समूह निर्वाचन बिथोल्न लागिपरेको भन्दै उनलाई होल्ड गर्न प्रहरीले पक्राउ गरेको दाबी गरिएको छ ।
निर्वाचनको अवधिभर प्रसाईँलाई थुनामै राख्न सकिए निर्वाचन बिथोल्न उनले केही गर्न नसक्ने भन्दै सरकारले उनलाई थुनामै राख्ने तयारी गरेको हो । यससँगै प्रसाईँ हालसम्म १३ पटक प्रहरी हिरासत र थुनामा पुगिसकेका छन् । प्रसाईँमाथि चेक बाउन्सदेखि सार्वजनिक अपराध र साइबर अपराधसमेतको मुद्दा लगाइएको छ ।
