ट्रम्पले गरे इरानका सर्वोच्च नेता खामेनी मारिएको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको घोषणा गरेका छन् । अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणका क्रममा खामेनीको मृत्यु भएको ट्रम्पले दाबी गरेका हुन् ।
आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक सन्देश जारी गर्दै ट्रम्पले खामेनीलाई ‘इतिहासकै क्रूर’ व्यक्तिको संज्ञा दिएका छन् । उनले खामेनी र उनको समूहले विश्वभरका नागरिकमाथि अत्याचार गरेको आरोप लगाउँदै उनको मृत्युलाई ‘न्याय’को संज्ञा दिएका छन् । इजरायलसँगको उच्चस्तरको समन्वय र परिष्कृत गुप्तचरी प्रणालीका कारण खामेनी बच्न नसकेको ट्रम्पको भनाइ छ । खामेनीसँगै इरानका अन्य शीर्ष नेता पनि मारिएको उनले दाबी गरेका छन् ।
राष्ट्रपति ट्रम्पले खामेनीको मृत्युलाई इरानी जनताका लागि आफ्नो देश फिर्ता लिने सबैभन्दा ठूलो अवसर भएको उल्लेख गरेका छन् । इरानको रिभोलुसनरी गार्ड्स ९आईआरजीसी०, सेना र प्रहरी बलले अब लड्न नचाहेको र आफूहरूसँग इम्युनिटी मागिरहेको समेत उनले जिकिर गरेका छन् । एकै दिनको आक्रमणले इरानको सैन्य संरचना क्षतविक्षत भएको दाबी गर्दै ट्रम्पले सैन्य कारबाही तत्काल नरोकिने स्पष्ट पारेका छन् । मध्यपूर्व र विश्वभर शान्ति स्थापना गर्ने लक्ष्य पूरा नभएसम्म बमबारी जारी रहने उनले बताएका छन् । इरानले भने हालसम्म आफ्ना सर्वोच्च नेताको मृत्युबारे कुनै आधिकारिक पुष्टि गरेको छैन ।
