उपत्यकामा ग्यासको अभाव कायम, सरकारको निर्देशन बोलीमा मात्रै
उपभोक्तालाई ग्यास डिपोले थमाएका छन् महिनापछिको कुपन
काठमाडौँ । रसुवमा आएको बाढी र त्रिसुली नदीमा बढेको पानीको बहाब सँगै लागातारको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अवरुद्ध भई ग्यास बुलेट भित्रिन नसक्दा काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ ।
काठमाडौंमा दैनिक ३५ देखि ४० हजार सिलिन्डर खपत हुने गरे पनि आपूर्ति प्रणाली ठप्पप्रायः हुँदा डिपोहरूमा खाली सिलिन्डरको लामो लाइन लाग्ने गरेको पाइन्छ । जडीबुटीस्थित साल्ट ट्रेडिङको शाखा र सिफलस्थित एभरेस्ट ग्यास डिपो, नेपाल ग्यासको डिपो बालाजु, बाबा ग्यासको डिपो बालकुमारी ललितपुर लगायत उपत्यकाका विभिन्न स्थानमा ग्यास लिन पुगेका सर्वसाधारणलाई डिपोहरूले एक महिनापछिको म्याद तोकेर टोकन थमाउँदै फर्काउने गरेका छन् ।
सरकारले सहजरुपमा सर्वसाधारणलाई ग्यास आपूर्ति गरिरहेको दावी गरे पनि सार्वसाधारणको घरमा ग्यास अभावका कारण चुलो नबल्ने अवस्था सिर्जना भएको छ । मागको तुलनामा न्यून मात्र ग्यास आपूर्ति भएकाले उपत्यका भित्र ग्यास अभाव अत्याधिक बढ्दै गएको छ। उपत्यकामा आपूर्ति गर्ने २२ मध्ये १८ वटा उद्योगमा ग्यास बुलेट पुग्न नसकेकाले आपूर्ति सहज हुन अझै केही समय लाग्ने ग्यास उद्योगीहरूको भनाई छ ।
तराईका जिल्लाहरूबाट भरेर उपत्यकामा ग्यास ल्याउने प्रयास गरिए पनि सोचे जस्तो सहज छैन । ग्यासको विकल्पमा विद्युतीय चुलो (इन्डक्सन) प्रयोग गर्न खोजे पनि लोडसेडिङ र इन्डक्सनमा मिल्ने उपयुक्त खालका भाँडाकुाडाको अभावका कारण उपभोक्ताहरुले थप सास्ती भोग्नु परेको छ ।
नेपाल आयल निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न र विद्युतीय चुलोको उपयोग बढाउन आग्रह गरे पनि सरकारले जारी गरेको उर्दिलाई पालना गर्न सक्ने अवस्थामा जनता नरहेको पाइन्छ ।
जसोतसो विहान बेलुका छाक टारेर गुजारा चलाई रहेको जनतालाई सरकारको निर्देशन पालना गर्न कठिन हुने हेक्का सरकारलाई छैन जनताको अवस्था कस्तो छ भने सरकारले हेक्का राख्नुको सट्टा उल्टै उर्दी जारी गरेको जनता निराश बन्न पुगेका छन् ।















