जेनजी शहीदहरूको सपना कुनै दल वा व्यक्तिको निजी राजनीतिक सम्पत्ति होइन : कांग्रेस
काठमाडौं । जेनजी शहीदहरूको सपना, मर्म र भावना विपरित देश चलेको संकेत गर्दै नेपाली कांग्रेसले जेनजी शहीदहरूको सपना कुनै दल वा व्यक्तिको निजी राजनीतिक सम्पत्ति नभएको उल्लेख गरेको छ । जेनजीले गरेको विद्रोह र त्यस पश्चात देशमा आएको राजनीतिक परिवर्तन र बितेको एक वर्षलाई मध्य नजर गर्दा जेनजी शहीदहरूको सपनामा तुसारापात आउने हो कि भन्ने प्रश्न उठेको कांग्रेस नेता भीष्मराज आङ्देम्बेले बताएका छन् ।
उनले भनेका छन्, ‘जेनजी शहीदहरूको सपना कुनै दल वा व्यक्तिको निजी राजनीतिक सम्पत्ति होइन । त्यो नेपाली समाजको परिवर्तनको साझा आकांक्षा हो । त्यसैले यसलाई सत्ता प्राप्तिको राजनीतिक उपलब्धिमा सीमित नगरी राज्यको नीति, शासन र व्यवहारमै रूपान्तरण गर्नुपर्छ ।’ जेनजीको बलिदानलाई सत्तामा पुग्ने भर्याङका रूपमा प्रयोग गरेर उनीहरूले उठाएका मूल प्रश्नलाई बेवास्ता गर्ने अधिकार वर्तमान सरकारलाई नभएको उनको भनाई छ ।
सरकारले आफूलाई जेनजी आन्दोलनको राजनीतिक उपलब्धिको प्रतिनिधि ठान्ने गरेको र उसले सबैभन्दा पहिले आफ्नै शासनशैली जेनजीको मूल्य, मान्यता र अपेक्षासँग खेलवाड गर्ने शैलिमा देखिएकाले जेनजीको बलिदानलाई मेल खाने कार्यशैलि अपनाउनु पर्नेमा जोड दिएका छन् । अरू दललाई दोषारोपण गर्न सहज भए पनि जनताको माग बमोजिम काम गर्न त्यति सहज नभएको भन्दै उनले भने, अब आफ्नै सरकारको कामको हिसाब जनतालाई दिनुपर्ने दिन आएको छ ।
जेनजीले व्यक्ति परिवर्तनभन्दा व्यवस्था सञ्चालनको संस्कार परिवर्तन खोजेको चर्चा गर्दै आङ्देम्बेले आलोचनालाई शत्रुको बोली नठान्न, प्रश्न गर्ने नागरिकलाई दण्डित गर्ने प्रवृत्ति त्याग्न र राज्यलाई पारदर्शी, जवाफदेही तथा जनउत्तरदायी बनाउन सरकारसँग आग्रह गरेका छन् । उनले आन्दोलनका घाइतेहरूको दीर्घकालीन उपचार, पुनर्स्थापना र आवश्यक सहयोग सुनिश्चित गर्न पनि सरकारसँग माग गरेका छन् । सरकारले जेनजी शहीदहरूको सपना विपरित काम गर्दै गएको संकेत गदै उनले जनता सरकारलाई नजिकबाट नियाली रहेको कुराको हेक्का राख्न आग्रह गरेका छन् ।
नेता आङ्देम्बेले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्नु वर्नेमा जोड दिएका छन् । नेता आङ्देम्बेले २३ भदौको प्रदर्शनलाई घुसपैठ गरी हिंसात्मक बनाउन उक्साइएको, तत्कालीन सरकारले अत्यधिक बल प्रयोग गरेको तथा त्यसको भोलिपल्ट आगजनी, तोडफोड र विध्वंसका घटना भएको बताएका छन् । उनले यी सबै घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाही हुनुपर्नेमा जोड दिएका छन् ।
आयोगले शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउन उक्साउने, घुसपैठ गर्ने, अत्यधिक बल प्रयोग गर्ने तथा २४ भदौमा विध्वंस मच्चाउने पक्षमाथि कारबाही गर्न सिफारिस गरिसकेको उल्लेख गर्दै उनले आयोगको प्रतिवेदन सरकारले तत्काल सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
घटनामा संलग्न जोसुकै भए पनि निष्पक्ष अनुसन्धान र कानुनी कारबाही हुनुपर्नेमा जोड दिँदै उनले भनेका छन्, ‘कसैलाई राजनीतिक संरक्षण वा सत्ताको प्रभावका आधारमा उन्मुक्ति दिन मिल्दैन । सरकारले जनताको भावना अनुसार काम गर्नु पर्नेमा जोड दिँदै जेनजी शहीदहरूको भावना नकुल्चिन र तमाम जेनजीलाई हेर्ने दृष्टीकोण एकैनासको हुनु पर्नेमा जोड दिएका छन् ।









