मतदान सकिएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगकाे तयारी
काठमाडौं । निर्वाचन आयोगले मतदान सकिएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको जनाएको छ ।
मतदान सम्पन्न भएलगत्तै मतपेटिका संकलन गरी गणना कार्यलाई द्रुत गतिमा अघि बढाउने योजना आयोगले बनाएको छ । आयाग कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले यसपटक परिणाम आउन समय नलाग्ने बताए ।
मतपरिणामको समयसीमाबारे स्पष्ट पार्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले समानुपातिकको एक–दुई दिन लागे पनि प्रत्यक्षतर्फको परिणाम मतपेटिका संकलन भएको २४ घण्टा भित्र घोषणा गर्ने गरी आयोगले तयारी गरेको बताएका छन् ।
उनले उपत्यकाबाहिर मतपत्र पठाउने काम सकिएको तथा काठमाडौं, ललितपुर र भक्तपुरका केही स्थानमा मंगलबार साँझसम्म र्पुयाइसक्ने गरी काम भएको जानकारी दिए । मतदान अधिकृतहरूको तालिम मंगलबार साँझसम्म सम्पन्न हुने र त्यसपछि आवश्यक सामान बुझेर सम्बन्धित मतदान केन्द्रमा खटिने उनको भनाइ छ ।
