sevenstartv.com १९ फागुन २०८२, मङ्गलवार

चालू आर्थिक वर्षको सात महिनामा भित्रियो साढे ६५ अर्ब वैदेशिक ऋण

११ फागुन २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । चालू आर्थिक वर्ष ०८२÷८३ को सात महिनामा ६५ अर्ब ५३ करोड रुपैयाँको वैदेशिक ऋण भित्रिएको छ । गत आवको पहिलो सात महिनामा ६१ अर्ब ९५ करोडको वैदेशिक ऋण भित्रिएको थियो । यो सँगै नेपालको कुल ऋण २७ खर्ब ३५ अर्ब पुगेको छ । चालू आवमा सरकारले दुई खर्ब ३३ अर्ब वैदेशिक ऋण उठाउने लक्ष्य लिएको छ । त्यस्तै, वैदेशिक अनुदानमा पनि वृद्धि भएको देखिन्छ । चालू आवको सात महिनामा १२ अर्ब ८४ करोड वैदेशिक अनुदान प्राप्त भएको छ । 

अघिल्लो आवको सो अवधिमा आठ अर्ब ८५ करोड मात्रै अनुदान भित्रिएको थियो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयअनुसार चालू आवको माघ मसान्तसम्म कुल वैदेशिक ऋण १४ खर्ब १६ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बाह्य ऋणको साँवा भुक्तानीमा सात महिनामा २६ अर्ब ७६ करोड खर्च भएको छ । बाह्य ऋणमा विदेशी मुद्राको विनिमय दरमा आएको उतारचढावले ७० अर्ब ६८ करोड नोक्सानीसमेत भएको छ । सार्वजनिक ऋण दायित्व दुई खर्ब १४ अर्ब ५६ करोड रुपैयाँले थपिएको छ । १ साउनसम्ममा देशको कुल सार्वजनिक ऋण दायित्व २६ खर्ब ७४ अर्ब पाँच करोड रुपैयाँ रहेकोमा माघ मसान्तसम्म आइपुग्दा २७ खर्ब ३५ अर्ब ७१ करोड कायम भएको छ । 

सरकारले ऋणको साँवा भुक्तानीमा एक खर्ब ५२ अर्ब ८९ करोड खर्चिएको छ । हालको ऋण दायित्व कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को ४५.९५ प्रतिशत हो । बाह्य ऋण सरकारको वार्षिक लक्ष्यको ४९.१९ प्रतिशत हो । चालू आवमा दुई खर्ब ३३ अर्ब ६६ करोडको बाह्य ऋण उठाउने लक्ष्य थियो । आन्तरिक ऋण दायित्व एक खर्ब ७८ अर्ब सात करोडले बढेर १३ खर्ब १९ अर्ब ५३ करोड कायम भएको छ । यो जिडिपीको २१.६ प्रतिशत हो । आन्तरिक ऋण भुक्तानीमा एक खर्ब २७ अर्ब ७६ करोड खर्च भएको छ । 

सरकारले खर्च धान्न राजस्व संकलन कमजोर हुँदा आन्तरिक ऋणमा निर्भरता बढाइरहेको देखिन्छ । वैदेशिक ऋणसम्बन्धी तथ्यांकमा भने दुई निकायबिच फरक तथ्य देखिन्छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालय (पिडिएमओ)का अनुसार चालू आवको सात महिनामा ३७ अर्ब ७९ करोड वैदेशिक ऋण थपिएको छ । पिडिएमओले दातृ निकायद्वारा आयोजनाहरूमा सोझै भुक्तानी गर्ने तथ्यांकको लेखांकन नगर्ने भएकाले यसको आँकडा महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकभन्दा कम देखिने गरेको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्