कर्मचारी र सुरक्षाकर्मीले मत दिन पाउँछन् कि पाउँदैनन् ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा खटिने सुरक्षाकर्मी र कर्मचारीले खटिएकै स्थानबाट मतदान गर्न पाउनेछन् । असन्न निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले समानुपातिकतर्फ मतदान गर्न सक्नेछन् । उनीहरूले आफू खटिएकै ठाउँमा मतदान गर्न सक्छन् । तर, उनीहरूलाई समानुपातिक प्रणालीतर्फ मात्रै यस्तो मताधिकार दिइएको छ । सुरक्षाकर्मी र कर्मचारी गरी निर्वाचनमा पाँच लाख ५१ हजार ८९० कर्मचारी खटिँदै छन् ।
निर्वाचन आयोगका अनुसार आसन्न निर्वाचनका लागि मुलुकभर १० हजार ९६७ निर्वाचनस्थल निर्धारण गरिएका छन् । जसमा २३ हजार ११२ निर्वाचन केन्द्र छन् । ती केन्द्रको व्यवस्थापन गर्न निजामतीतर्फका कर्मचारी मात्रै दुई लाख १३ हजार खटिँदै छन् । त्यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी र नेपाली सेना गरी तीन लाख ३८ हजार ८९० जना खटिँदै छन् । उनीहरूले खटिएकै निर्वाचनस्थलमा समानुपातिकतर्फ मात्रै मतदान गर्न सक्ने छन् । निर्वाचन आयोगले निर्वाचनका लागि हालसम्म मुलुकभर १० हजार ९६७ निर्वाचनस्थल निर्धारण गरेको छ । जसमा निर्वाचन केन्द्र २३ हजार ११२ निर्धारण भएका छन् । तर, सुरक्षा संयन्त्रले मुलुकभर ११ हजार ९०१ क्षेत्रलाई निर्वाचनस्थल मानेको छ । सोही आधारमा उनीहरूले सुरक्षा संवेदनशीलता विश्लेषण गरेका छन् । यस आधारमा अतिसंवेदनशील निर्वाचनस्थलको संख्या ४६ सय १४ पुगेको छ ।
त्यसमध्ये बागमती र मधेश प्रदेशको मात्रै क्रमशः एक हजार २८८ र एक हजार २४६ गरी कुल दुई हजार ५३४ छ । अतिसंवेदनशीलमध्ये दुई हजार ८० भने बाँकी प्रदेशका निर्वाचनस्थल छन् । जसअन्तर्गत उपत्यकामा १२, कोशीमा ४३९, गण्डकीमा ३२८, लुम्बिनीमा ४६२, कर्णालीमा ३५८ र सुदूरपश्चिममा ४८१ छन् । त्यस्तै, चार हजार ४४२ मतदानस्थल सुरक्षा चुनौती विश्लेषणका आधारमा संवेदनशील सूचीमा राखिएका छन् । काठमाडौं उपत्यकामा २३७, कोशीमा ८२१, मधेसमा ७५५, बागमीतमा ४९७, गण्डकीमा ५७७, लुम्बिनीमा ७३८, कर्णालीमा ४२२ र सुदूरपश्चिममा ३९५ छन् । बाँकी दुई हजार ८४५ मतदानस्थल भने सामान्य मानिएका छन् । चुनावमा खटिनेबाहेकका कर्मचारीले पनि कार्यक्षेत्रबाटै समानुपातिकमा मतदान गर्न पाउँछन् ।
निर्वाचनमा प्रत्यक्ष खटिनेले मात्रै होइन, अप्रत्यक्ष खटिने सरकारी कर्मचारीले कार्यक्षेत्रबाटै समानुपातिकमा मतदान गर्न पाउँछन् । उनीहरूका लागि आयोगले पायक पर्ने ठाउँमा अस्थायी मतदानस्थल खडा गरिदिन्छ । उनीहरूको पनि मतदाता नामावली तयारी गरेको र सोहीअनुसार स्थायी मतदानस्थल निर्धारण गरेको आयोगले जनाएको छ । विगतझैँ यसपटक पनि कैदीबन्दीले समानुपातिकमा मतदान गर्न पाउँछन् । आयोगका अनुसार सम्बन्धित कारागारमै उनीहरूका लागि मतदान गर्ने व्यवस्था हुनेछ । मुलुकभरका ७४ कारागारमा हाल २५ हजार ९७३ कैदीबन्दीमध्ये करिब २५ प्रतिशतको मात्रै मतदाता नामावलीमा नाम रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।
