विश्वकपमा नेपालको जित
काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेपालले जित हात पारेको छ । लगातार तीन खेलमा पराजय बेहोरेको नेपालले चौथो खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको हो ।
जितसँगै नेपालले विश्वकप यात्रा पनि टुंग्याएको छ। यो खेलअगावै दुवै टिम समूह चरणबाट बाहिरिसकेका थिए। यसअघि इंग्ल्यान्ड‚ इटली र वेस्ट इन्डिजसँग नेपाल पराजित भएको थियो ।
भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रन बनायो ।
स्कटल्यान्डका लागि ओपनर माइकल जोन्सले अर्धशतक प्रहार गरे। उनले ४५ बलमा आठ चौका र तीन छक्काको सहयोगमा ७१ रनको योगदान दिएका थिए। त्यस्तै जर्ज मुन्सेले २७ र ब्रान्डन म्याकमुलेनले २५ रन जोडे।
बलिङतर्फ नेपालका सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले दुई विकेट लिए। त्यस्तै रोहित पौडेल र कुशल भुर्तेलले समान एकरएक विकेट झारे । नेपालले ४ बल बाँकी छँदै स्कटल्यान्डले दिएको लक्ष्य पूरा गरेको हो ।
आसिफ सेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए । भुर्तेलले ४३ र आसिफले ३३ रन जोडे । दीपेन्द्रसिंह ऐरीले आक्रमक ब्याटिङ गर्दै अविजित ५० रनको योगदान गरे ।
