श्रीलंकामाथि नेपालको जित
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय टिमले श्रीलंका ‘ए’सँगको तेस्रो खेलमा शानदार जित निकालेको छ ।
शनिबार सम्पन्न भएको तेस्रो अभ्यास खेलमा नेपालले ७ विकेटको जित निकालेको हो । सुरुका दुई अभ्यास खेलमा पराजित भएको नेपालले अभ्यास शृङ्खलाको सुखद् अन्त्य गरेको हो ।
सुरुमा ब्याटिङ गरेको श्रीलंका ‘ए’ ले दिएको १३३ रनको लक्ष्य नेपालले १६.२ ओभरमै ३ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालको जितमा कुशल भुर्तेलले महत्त्वपूर्ण योगदान दिए । अर्धशतक बनाउन एक रनले चुकेको भुर्तेलले ३५ बल खेल्दै ४९ रन बनाए ।
उपकप्तान दीपेन्द्र सिंह ऐरी १५ बलमा २२ रन बनाउँदा अविजित रहे । त्यस्तै, आरिफ शेखले २२ बलमा २४ रन जोडे भने कप्तान रोहितकुमार पौडेलले १९ रनको योगदान दिए । ओपनर आशिफ शेख ११ रनमा आउट भएका थिए । विश्वकप अगाडि अब नेपालले श्रीलंकाबाट सिधै भारतमा गएर अभ्यास गर्नेछ ।
