ओलीविरुद्ध बालेनको उम्मेदवारसँगै झापा–५ मा कडा प्रतिस्पर्धा हुने
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा–५ क्षेत्रलाई सर्वाधिक चासोको रूपमा हेरिएको छ । निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएका दुई पात्र केपी शर्मा ओली र बालेन शाह एकै निर्वाचन क्षेत्रबाट भिडन्तमा उत्रिएपछि झापा–५ सर्वाधिक चासोको क्षेत्र बनेको छ ।
काठमाडौँ महानगरपालिकाकाको मेयर त्यागेर बालेन रास्वपाको वरिष्ठ नेताको हैसियतमा ओलीसँग चुनाव लड्न झापा पुगेका छन् । ओलीविरुद्ध बालेनको उम्मेदवारसँगै झापा–५ मा कडा प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ । उम्मेदवारी मनोनयन दर्ता गरेको भोलिपल्टदेखि नै ओली र बालेन दुवै जना चुनाव जित्ने रणनीतिका साथ सक्रिय भएका छन् । मतदातालाई आफ्नो पक्षमा पार्ने रणनीति अनुसार दुवै नेताले स्थानीय मतदातासँग भेटघाट र छलफललाई तीव्रता दिएका छन् । प्रधानमन्त्रीको उम्मेदवार भएकै कारणले ओली र शाह दुवैका लागि यो निर्वाचन प्रतिष्ठाको विषय समेत बनेको छ ।
शुक्रबारसम्म झापामै बस्ने योजनामा रहेका ओलीले स्थानीय मतदाता र कार्यकर्तासँगको भेटमा आफूले झापामा गरेका विकासका काम, राष्ट्रियताप्रति एमालेले लिएको नीति तथा युवाहरूको भविष्यका बारेमा चर्चा गर्ने गरेका छन् । ओलीले एमालेले ७० प्रतिशत भोट ल्याएर चुनाव जित्ने दावीमात्रै गरेनन् उच्च मनोबलका साथ अघि बढ्न निर्देशन समेत दिएका छन् ।
कांग्रेस थिग्रिन नसकेको र पूर्वमाओवादीका धेरै मतदाताहरू समेत एमालेमै भोट हाल्ने मनस्थितिमा रहेका भन्दै ओलीले कुल खसेको दुई तिहाइ भन्दा बढी मत ल्याएर एमालेले चुनाव जित्ने दाबी गर्दै आएका छन् भने चुनाव प्रचारका लागि रास्वपाले दमकमा भाडामा लिएको घरमा बसेर बालेनले भेटघाट गरिरहेका छन् । झापाका लागि नयाँ अनुहार भएपनि बालेनलाई भेट्न बालबालिकादेखि वृद्धहरूसम्मको घुइँचो लागेको छ ।
चुनाव जित्ने रणनीति बनाइरहेका बालेनको ध्यान रास्वपाका नेता कार्यकर्तासँगको भेटघाट बाहेक अन्य पार्टीका युवा नेता कार्यकर्तामाथि पनि देखिएको छ । विशेष त कांग्रेस र एमालेका युवा नेताहरूलाई फकाउने रणनीति बालेनको देखिएको छ । बुधबारमात्रै एमाले र कांग्रेसका केही स्थानीय नेता कार्यकर्ताले बालेनलाई समर्थन गर्ने भन्दै पार्टी छाडेको घोषणा नै गरेका छन् ।
ओलीको निर्वाचन क्षेत्रका केही युवाहरू पनि बालेनलाई चुनाव जिताउन भन्दै रास्वपा प्रवेश गरेका छन् । बालेन झापामा चुनावी माहौल बनाउन अबको एक साता निरन्तर रहने जनाइएको छ । युवामाझ लोकप्रिय रहेका बालेन आफ्नो निर्वाचन क्षेत्रका युवाहरूलाई आफ्नो पक्षमा पार्ने रणनीतिमा लागिरहँदा ओलीले पनि सक्रियता बढाएका छन् । झापा ५ मा नेपाली कांग्रेसबाट मन्धरा चिमरिया र नेकपाबाट रञ्जित तामाङसहित २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
