मकवानपुरमा कांग्रेस नेतृ उपाध्यायको चुनावी लहर
काठमाडौं । मकवानपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया उल्लासपूर्ण रूपमा सम्पन्न भएको छ ।
मकवानपुर निर्वाचन क्षेत्र नम्बर-१ मा २३ जना उम्मेदवार मैदानमा उत्रिएका छन्, जसमा १३ जना विभिन्न राजनीतिक दलका र १० जना स्वतन्त्र छन् । यस्तै, निर्वाचन क्षेत्र नम्बर–२ मा २१ जना उम्मेदवार रहेका छन्, जसमा १६ जना दलीय र ५ जना स्वतन्त्र गरी दुवै क्षेत्रमा कुल ४४ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।
नेपाली कांग्रेसबाट क्षेत्र-१ मा महालक्ष्मी उपाध्याय ‘डीना’ र क्षेत्र-२ मा बुद्ध लामाले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । फागुन २१ गते हुने निर्वाचनका लागि मङ्गलवार दुवै उम्मेदवार हेटौँडास्थित निर्वाचन कार्यालय पुगेका थिए । क्षेत्र-२ का उम्मेदवार लामा नेपाली कांग्रेस मकवानपुर जिल्ला सभापति हुन् भने क्षेत्र–१ की उम्मेदवार उपाध्याय कांग्रेसकी पूर्व सहमहामन्त्री हुन् ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंह मकवानपुर–१ बाट निर्वाचित भएका थिए । सिंहले २७ हजार ८ सय १४ मत प्राप्त गरी २ हजार ३ सय ९३ मतान्तरले जीत हासिल गरेका थिए ।
